समाचार

अमेरिकी उपराज्यमन्त्री बर्मा आज नेपाल आउँदै

३२ श्रावण २०८१, शुक्रबार ०९:३०
अमेरिकी उपराज्यमन्त्री बर्मा आज नेपाल आउँदै

३२ साउन, काठमाडौं।  अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् ।

अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल भ्रमणमा आउन लागेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो ।

उनले नेपालमा आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत विभिन्न उच्च स्तरीय अधिकारीलाई भेट्ने नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

बर्माले नेतृत्व गर्ने प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग छलफल गर्नेछ ।

बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्क पनि रहने छन् । नेपालपछि उनी भारत भ्रमणमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्