समाचार

केही ठाउँमा भारी वर्षाको स‌‌म्भावना

३० श्रावण २०८१, बुधबार ०८:१३
केही ठाउँमा भारी वर्षाको स‌‌म्भावना

३० साउन, काठमाडौं।  मनसुनी वायुको प्रभावले देशका चार प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार, हाल देशभर मनसुनी वायु र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षा भइरहेको छ। अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने विभागको अनुमान छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक वर्षा हुने विभागको आकलन छ।

आगामी २४ घण्टामा कोशी, वग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, विभागले विगत ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ ।

कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढु‌ङ्गालगायत अन्य भू–भाग, मधेस प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, वाग्मती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोरखा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्