समाचार

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

३० श्रावण २०८१, बुधबार ०७:४९
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

३० साउन, काठमाडौं। रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।

मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताए । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताए ।

 विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।

एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन् । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार छ सय ९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेकोे छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।

प्रतिक्रिया दिनुहोस्