समाचार

प्रधान सेनापति शर्मा आजबाट बिदामा, कस्तो रह्यो कार्यकाल ?

२५ श्रावण २०८१, शुक्रबार १३:०५
प्रधान सेनापति शर्मा आजबाट बिदामा, कस्तो रह्यो कार्यकाल ?

२५ साउन,काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा आज (साउन २५) गतेबाट बिदामा बस्दैछन् । प्रधानसेनापतिले अवकास पाउनु एक महिना अघिबाट बिदामा बस्ने सैन्य अभ्यास अनुसार शर्मा शुक्रबारबाट बिदामा बसेका हुन् ।

४४औं प्रधानसेनापति प्रभुराम शर्मा तीनवर्षे कार्यकाल पूरा गरेर आउँदो भदौमा सेवानिवृत्त हुँदै छन्। अवकाशभन्दा एक महीनाअघि बिदा बस्ने अभ्यास अनुसार शर्मा साउन २५ देखि नै जंगी अड्डा जानेछैनन्।

करीब ९३ हजार फौजको संगठन हाँक्दा ब्राह्मण समुदायबाट पहिलो प्रधानसेनापति भएको इतिहास उनको नाममा बन्यो। यसअघि सैनिक नेतृत्वमा राणा, थापा, पाँडे, बस्नेत, गुरुङ समुदायका थिए। समुदायविशेषबाट पहिलो प्रधानसेनापति बन्नु बाहेक शर्मा तीनवर्षे कार्यकालमा कस्ता पदचाप छाडेर जाँदै छन्?

“जति सोच्दा पनि संगठनमा सकारात्मक बदलाव हुने काम गरेको एउटै कुरा सम्झना आएन,” सुरक्षा मामिला विश्लेषक इन्द्र अधिकारी भन्छिन्।

हुन पनि प्रधानसेनापति शर्माले आफ्नो कार्यकालमा संगठन सुदृढ गर्ने र व्यावसायिकता उकास्नेतर्फ कदम चालेको देखिंदैन। सैन्य कमान्ड आफ्नो हातमा लिएपछि शर्माले संगठनको संरचना बदलेर पुरानै अवस्थामा फर्काइदिए। उनी नेतृत्वमा आउनु एक महीनाअघि २०७८ साउनमा मात्रै उत्तर-दक्षिण बग्ने नदी बेसिनका आधारमा सैनिक संगठनलाई कमान्ड संरचनामा ढालिएको थियो।

कोशी, गण्डकी र कर्णाली नदी बेसिनका आधारमा पूर्वी, मध्य र पश्चिम तथा संघीय राजधानीमा अर्को गरी चार वटा कमान्ड हेडक्वार्टर स्थापित थिए। जसलाई ‘थ्री प्लस वान’ कमान्ड संरचना नाम दिइएको थियो। लडाइँका वेला तत्काल एकीकृत र परिचालित हुन सकिने तर्क सहित उपरथीको नेतृत्वमा रहने कमान्ड हेडक्वार्टरलाई स्वतन्त्र राख्ने र जंगी अड्डाले रणनीतिक तहमा काम गर्ने योजना थियो।

त्यसअघि सबै प्रदेश र राजधानीमा गरी आठ वटा पृतना संरचनामा सेना तैनाथ थियो। लामो समयदेखि सेनाको सांगठनिक संरचना प्रशासनिक विभाजनका आधारमा भएकाले राष्ट्रिय सुरक्षा चुनौती थेग्न रणनीतिक तैनाथी आवश्यक रहेको निचोडमा पुग्दै जंगी अड्डाले ‘थ्री प्लस वान’ को निर्णय गरेको थियो।

यसैकारण उनले बाध्य भएर २०८० मंसिर १९ गते कमाण्डिङ्ग अफिसर ओरिएन्टेशन कार्यक्रमका सहभागीहरूलाई सम्बोधनका क्रममा भनेका थिए, “व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हित प्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त गर्न म प्रतिवद्ध छु ।’’

प्रतिक्रिया दिनुहोस्