खेलकुद

काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा भारतसँग नेपालको हार

२३ श्रावण २०८१, बुधबार १९:३८
काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा भारतसँग नेपालको हार

२३ साउन, काठमाडौं । काठमाडौंमा जारी काभा महिला नेशन्स लीग भलिबलको फाइनलमा आयोजक नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको छ।

खेलको पहिलो र तेस्रो सेट जितेको नेपाल चौथो सेट जितेर भारतलाई रोक्ने दाउमा थियो। तर चौथो सेट भारतले जितेपछि पाँचौँ सेट निर्णायक भएको थियो। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा बुधवार भएको खेलमा नेपाली भलिबल प्रशंसकहरूको उल्लेख्य उपस्थिति थियो।

पाँच वर्षअगाडि काठमाण्डूमै भएको १३ औँ दक्षिण एशियाली खेलकुदको फाइनलमा भारतसँग आमनेसामने हुँदा राष्ट्रिय महिला भलिबल टोली अन्तिम सेटमा दुर्भाग्यपूर्ण तरिकाले पराजित हुन पुगेको थियो।

तर त्यति बेला नेपाली महिला टोलीले अब भारतसँग टक्कर दिन सक्ने सङ्केत दिइसकेको थियो। त्यसअघिको दुई दशकको अवधिमा जति पटक नेपाल-भारत आमनेसामने भए, नेपालले सहजै घुँडा टेकेको अवस्था थियो।

पाँच वर्षअगाडिको सागपछि नेपाल र भारतको त्यसपछिको भेट गत वर्ष चीनमा भएको १९ औँ एशियाली खेलकुदमा भयो। तर त्यो भेटमा नेपाली टोलीले एक सेट मात्र जित्न सक्यो। खेल भारतले ३-१ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि यसै प्रतियोगितामा यी दुई टोली भिडेका हुन्, जहाँ लीग चरणमा नेपालले पहिलो पटक भारतका विरुद्ध ऐतिहासिक जित हात पार्न सफल भयो।

प्रतिक्रिया दिनुहोस्