समाचार

बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी

२३ श्रावण २०८१, बुधबार १३:३०
बंगलादेशकाे नयाँ सरकार प्रमुख, जाेसँग खाेसिएकाे थियाे नाेबेल पुरस्कारकाे समेत राेयल्टी

२३ साउन, एजेन्सी। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेका छन् ।

अध्यक्ष शाहबुद्दीन र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरुबीच भएको भेटमा उक्त निर्णय भएको बंगलादेशी सञ्चार माध्यमले बताएका छन् । “बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।”

राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । “बैठकमा प्रोफेसर डा मुहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ,” साहाबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रूत गठन आवश्यक छ ।” बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्