समाचार

मुख्यमन्त्री शाहले गरे तीन प्रतिबद्धता, बजेट शून्यता चाँडै अन्त्य गर्ने दाबी

२१ श्रावण २०८१, सोमबार २१:३५
मुख्यमन्त्री शाहले गरे तीन प्रतिबद्धता, बजेट शून्यता चाँडै अन्त्य गर्ने दाबी

२१ साउन, काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले तीन प्रतिबद्धता गरेका छन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै पदभार ग्रहण गर्दै उनले भ्रष्टाचार अन्त्य गर्ने, निःशुल्क ब्लड बैङ्क सञ्चालन गर्ने र विपद् जोखिम दुर्घटना बिमा कार्यक्रम लागू गर्ने बताएका हुन् । मुख्यमन्त्री शाहले भ्रष्टाचार अन्त्य गर्न कार्यदल गठन गर्ने बताए । उक्त कार्यदललाई १५ दिनको समय मुख्यमन्त्री शाहले दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्रशासन सुधार तथा समन्वय महाशाखाका सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सबै सचिव तथा प्रदेश नीति तथा योजना आयोगका सचिव सदस्य रहने गरि कार्यदल बनाएका हुन् ।

यस्तै प्रदेशका सबै सरकारी अस्पतालमा निःशुल्क ब्लड बैङ्क सञ्चालन र व्यवस्थापनका विषयमा आवश्यक अध्ययन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने, प्राकृतिक विपद्बाट हुने मानवीय क्षति सम्बोधन गर्न विपद् जोखिम न्यूनीकरण बिमा सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेका छन् ।

पदभार ग्रहणपछि मुख्यमन्त्री शाहले बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने समेत बताए । ‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकारले तीव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ ’ शाहले भने, ‘ यो पटक सबै मन्त्री ज्यूलाई एकै पटक शपथ ग्रहण गराएका छौँ । हामी सचिव ज्यूहरूसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक्दुई दिनभित्र निकास दिन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्