समाचार

विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाइए पुन र आचार्य

२० श्रावण २०८१, आईतवार २१:३२
विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाइए पुन र आचार्य

२० साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुन पदमुक्त भएका छन् ।

विद्युत महसुल विवादमा पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका हुन् । आज अर्थात् साउन २० गतेदेखि लागू हुनेगरि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनीहरुलाई संचालकबाट हटाएको छ ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था गरेको छ । सञ्चालक समिति सदस्यहरूको पदावधि ४ वर्षको हुने व्यवस्था छ तर सरकारलाई चित्त नबुझे हटाउन सक्ने व्यवस्था पनि रहेको छ ।

प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना गर्न असहयोग गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्