समाचार

काठमाडौंको कालोपुलमा भएको हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ

२० श्रावण २०८१, आईतवार २१:१७
काठमाडौंको कालोपुलमा भएको हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ

२० साउन, काठमाडौँ। काठमाडौंको कालोपुलमा २० वर्षीय प्रेम महत दर्जी मृत फेला परेका छन्।

उनको हत्या भएको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंले मृतककी श्रीमती २४ वर्षीया उषा नेपाली र अर्का युवक २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको परिसरका एसपी नवराज अधिकारले बताए।

यी दम्पती एक महीनादेखि कालोपुलमा भाडामा बस्दै आएका थिए। मृतक प्रेमको घर ओखलढुंगाको लिखु गाउँपालिका-९ मा रहेको प्रहरीले जनाएको छ।  हत्या अभियोगमा पक्राउ परेकी उषाको माइती भने मानेभन्ज्याङ गाउँपालिकामा पर्छ।

‘आज (आइतबार) कालोपुलस्थित डेराको घरमा प्रेम मृत अवस्थामा फेला परेकाले मृतककी श्रीमती उषा र मदन रम्तेललाई पक्राउ गरिएको हो,’ उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्