शिक्षा

कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

१८ श्रावण २०८१, शुक्रबार ११:१०
कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी

१८ साउन,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड बैठक अहिले जारी छ । केही प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

बैठकले नतिजाबारे आवश्यक निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

‘बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार परीक्षा सञ्चालन गरेको थियो । सोही आधारमा नतिजा प्रकाशन गर्नेछ । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्