sudurpashchim

मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिँदै

१६ श्रावण २०८१, बुधबार १५:२७
मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिँदै

१६ साउन,धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने बताएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका हुन् ।

 सत्तासिन दल नेकपा एमाले गत असार २० गते सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् । विश्वासको मतको प्रायोजनको लागि आज उनले सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् । प्रदेशसभा सचिवालयले शुक्रबार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेशसभा सदस्यहरुलाई सूचना पनि सम्प्रेषण गरिसकेको छ ।

सोडारीलाई अहिले माओवादी केन्द्रका १० जना, नेकपा एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । जबकी ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना विपक्षमा छन् । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले चालु वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको स्थिति छ ।

प्रतिक्रिया दिनुहोस्