प्रविधि

ओपनएआईले आफ्नै ‘सर्चजीपीटी’ ल्याउने

१५ श्रावण २०८१, मंगलवार १०:३८
ओपनएआईले आफ्नै ‘सर्चजीपीटी’ ल्याउने

१५ साउन,काठमाडौं। च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले आफ्नो सर्चजीपीटी नामक सर्च इञ्जिनको प्रोटोटाइप घोषणा गरेको छ ।

यसले प्रयोगकर्तालाई स्पष्ट तथा सान्दर्भिक स्रोतसहितका उत्तरहरू द्रुत गतिमा र तुरुन्तै उपलब्ध गराउने उल्लेख गरेको छ। सर्चजिपिटीले च्याटजिपिटीको तुलनामा बढी समाचार, लेख र सूचनाहरूलाई स्रोतको रूपमा लिएर जानकारी उपलब्ध गराउने बताइएको छ।

यसबाट सबैभन्दै धेरै चुनौति अहिलेको प्रमूख सर्च इन्जिन गुगलले सामना गर्ने मानिएको छ। हुनतः गुगलले नै पनि आफ्नो वेब सर्चमा जेनेरेटिभ एआई समावेश गर्ने तयारी गरिरहेको छ। ओपन एआईका अनुसार यसले भविष्यमा सर्चजिपिटीलाई च्याटजिपिटीसँग एकीकृत गर्ने योजना बनाएको छ। अहिले च्याटजिपिटीले बिंग प्रयोग गरेर वेब सर्चहरू गर्छ। यद्यपि सर्चजिपिटीले एआई असिस्टेड वेब सर्चिङ गर्ने जनाइएको छ।

ब्लग पोस्टमा लेखिएको छ-हामीले सर्च जिपिटीको परीक्षण गरिरहेका छौं जुन नयाँ एआई सर्च फिचरको प्रोटोटाइप हो । यसले तपाईंलाई छिटो तथा रियल टाइममा जवाफ दिनेछ, जुन सम्बन्धित स्रोतसँग जोडिएको हुनेछ । हामीले यसलाई प्रयोगकर्ताको सानो समूहका लागि लञ्च गर्दैछौं र उनीहरूबाट हामीलाई पृष्ठपोषण प्राप्त हुनेछ र त्यो अनुभवलाई हामीले च्याट जिपिटीमा आबद्ध गर्नेछौं ।

सर्च जिपिटीका लागि कम्पनीले विभिन्न प्रमुख प्रकाशकहरुसँग सहकार्य गरेको छ । गुगलले आफ्नो सर्चमा एआईलाई आबद्ध गर्न थालेको बेला ओपन एआईले सर्च जिपिटी लञ्च गरेको हो । अहिले गुगलमा सर्च गर्दा कतिपय जवाफहरु एआई सिर्जित हुने गरेका छन् । तर धेरै मानिसहरुले गुगल सर्चमा एआईलाई आबद्ध गरेको रुचाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्