समाचार

कोशीमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति

१५ श्रावण २०८१, मंगलवार १०:२३
कोशीमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति

१५ साउन,काठमाडौं। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समीकरणअनुसार प्रदेशमा हाललाई नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन्।

पार्टीभित्रै मन्त्री छान्न सकस परिरहेका बेला कांग्रेसले केन्द्रजस्तै प्रदेशमा पनि आलोपालो सरकारको नेतृत्व हुनुपर्ने सर्त अगाडि सारेको हो । केन्द्रमा सरकार परिवर्तन हुँदा कोशीमा पनि हुनुपर्ने कांग्रेसको सर्त छ ।

केन्द्रमा कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ । सोहीअनुरूप केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दा प्रदेशमा पनि हुनुपर्ने कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले बताए । ‘केन्द्रमा प्रधानमन्त्रीका लागि समय सीमा तोकिएको छ,’ उनले भने, ‘प्रधानमन्त्री ओली हटेका दिन प्रदेशमा पनि हाम्रो नेतृत्वमा सरकार बनाउन पाउनुपर्छ ।’

नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयमा असन्तुष्टि छ । केन्द्रले सिधै हस्तक्षेप गरेर प्रदेशका मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस प्रदेश समिति सभापति अमर पुनले असन्तुष्टि जनाएका छन् ।

अर्थ मन्त्रालयमा एमाले र कांग्रेस दुवैले दाबी गरेका छन् । यस्तै सहरी विकास मन्त्रालयमा पनि दोहोरो दाबी देखिएको छ । यहाँ साना दलहरूलाई सरकारमा सहभागी गराउने तयारी भए पनि मन्त्रालय भागबण्डा हुन बाँकी रहेकाले साना दलको बारेमा निर्णय गर्न ढिला भएको मुख्यमन्त्री चेतनारायण आचार्यले रातोपाटीलाई बताए ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका सरोज थापाले कुन मन्त्रालय कसले पाउने भन्ने अझै टुङ्गो नभएको बताए । काठमाडौँमा रहेका थापाले भने, ‘मन्त्रालय तोकिएको भए मन्त्रालयमा बसेर जनताको काम गर्न हुने थियो तर अहिलेसम्म तोकिएको छैन । छिटो गरिदिए हुने थियो ।’

एमालेबाट विनाविभागीय मन्त्री बनेका भुमेश्वर ढकालले साउन १६ गते यता मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सम्भावना कम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्