समाचार

आठ देशका राजदूतमा कांग्रेस-एमालेबीच मिल्यो भागबण्डा

१३ श्रावण २०८१, आईतवार ०८:०२
आठ देशका राजदूतमा कांग्रेस-एमालेबीच मिल्यो भागबण्डा

१३ साउन, काठमाडौँ । सत्तारुढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले विभिन्न देशका राजदूतमा भागबण्डा गरेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत दुई दलका  शीर्ष नेता बसेर राजदूतको भागबण्डा मिलाएका हुन्।

सहमति अनुसार कांग्रेसले भारत, अस्ट्रेलिया, जापान र साउदी अरबको राजदूत पाउने भएको छ । त्यस्तै, अमेरिका, चीन, बेलायत र रुस एमलेको भागमा परेको छ ।

अघिल्लो सरकारले कांग्रेसको कोटाबाट नियुक्त भएका ११ देशका राजदूत फिर्ता बोलाएको थियो। रिक्त रहेका देशहरूमा एमाले, माओवादी ररास्वपाले भागबण्डा गरेका थिए । तर, बीचमै सरकार ढलेपछि राजदूत नियुक्ति प्रक्रिया पनि रोकिएको थियो ।

कांग्रेस र एमाले मिलेर सरकार बनेपछि पुनः केही देशका राजदूत फिर्ता बोलाउने तयारी गरिएको छ । अब सरकारले माओवादी, नेकपा एसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन लागेको हो ।

माओवादीको कोटाबाट चीनमा विष्णुपुकार श्रेष्ठ, श्रीलंकामा वासुदेव मिश्र र दक्षिण अफ्रिकामा दानबहादुर तामाङ राजदूत छन् । त्यस्तै, नेकपा एसबाट रुसमा मिलन तुलाधर र अस्ट्रेलियामा कैलाश पोखरेल राजदूत छन् । सरकारले केही दिनभित्रै उनीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्