समाचार

सिमलतालमा पहिरो अपडेट: १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

१३ श्रावण २०८१, आईतवार ०७:५२
सिमलतालमा पहिरो अपडेट: १९ किलोको चुम्बक त्रिशूलीमा हरायो

१३ साउन, काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको छ ।

गएको असार २८ गतेदेखि हराइरहेका दुई वटा बस र ती बसमा रहेका कतिपय यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा हिजो पनि खोजी गरिएको थियो ।

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका सूचना अधिकारी, प्रहरी उपरीक्षक जनक पुरीका अनुसार हिजो एउटा १९ किलो र अर्को १४ किलोको चुम्बकले खोजी गरिएको थियो ।

वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस असार २८ गते शुक्रवार बिहान सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका हुन् । ती बसमा रहेका ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकोमा अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । दुई बस र अरू यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । घटनाको १६ दिन बितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्