समाचार

युवकको मृत्यु प्रकरण : आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार

१२ श्रावण २०८१, शनिबार १४:१०
युवकको मृत्यु प्रकरण : आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा ६ राउण्ड अश्रुग्यास प्रहार

१२ साउन, धनगढी। धनगढीस्थित एक निजी अस्पतालमा उपचाररत युवककाे मृत्युकाे विषयलाई लिएर धनगढी बजार तनावग्रस्त बनेकाे छ।

मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ति माग गरेका छन। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ।

कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरीमाथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्यास हानेको बताए। ‘भीड तितरबितर गर्नका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ। ३/४ जना प्रहरीलाई ढुंगा लागेर सामान्य घाइते भएका छन्’ एसपी विष्टले भने।

जन्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो। मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन्।

जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको थियो। अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। अहिले पनि अस्पताल वरिपरि ठुलाे संख्यामा प्रहरी परिचालन गरिएकाे छ।

आफन्तीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गर्ने प्रयास गरेकाे थियाे तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्