राजनीति

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

६ श्रावण २०८१, आईतवार ०८:०६
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

६ साउन, काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज  (आइतबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् ।

महराले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ । प्रदेश सचिव दुर्लभकुमार पुनले आज मुख्यमन्त्री महराले विश्वासको मत लिने तयारी रहेको बताए ।

केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ११ दलको प्रतिनिधित्व छ । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ ।  लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । यस्तै, माओवादी केन्द्रका (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका १–१ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्