मुख्य समाचार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

६ श्रावण २०८१, आईतवार ०८:०१
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने

६ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ।

 असार ३० गते प्रधानमन्त्री नियुक्त भई ३१ गतेबाट कार्यभार सम्हालेका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि आज नेकपा एमालेले विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकाले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको हो। संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो। दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री नियुुक्त भएको सात दिनभित्रै विश्वासको मत लिने निर्णय गरेका हुन्।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ। प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए भने उनी असार ३० गते प्रधानमन्त्रीकाे रूपमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्