समाचार

प्रधानमन्त्रीले निर्देशन दिए पनि उद्योगमा काटिएको बिजुली जोडिएन

५ श्रावण २०८१, शनिबार ०८:१३
प्रधानमन्त्रीले निर्देशन दिए पनि उद्योगमा काटिएको बिजुली जोडिएन

५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिए पनि विद्युत प्राधिकरणले लिखित निर्देशन आउनुपर्ने भन्दै अस्वीकार गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ उद्योगमा काटिएको लाइन तत्काल जडान गर्न निर्देशन दिएपनि उनले अनेक वहाना बनाएर त्यसलाई अस्वीकार गरेका हुन् ।प्राधिकरणले महसुल नतिरेको भन्दै विवादित व्यवसायी पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट,अर्घाखांची सिमेन्ट, जगदम्बा सिन्थेटिक,हुलास स्टील र जगदम्बा स्टीलको लाइन काटेको थियो ।

प्रधानमन्त्रीले शुक्रवार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहित उद्योगमन्त्री दामोदर भण्डारी, उर्जामन्त्री दीपक खड्कासहित महसुल बुझाउन बांकी उद्योगी बोलाएर छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले लाल आयोगको प्रतिवेदन अध्ययन गर्ने भन्दै तत्काल अर्को निर्णय नभएसम्म लाइन जोड्न निर्देशन दिएपनि घिसिङले  निर्देशन उल्लंघन गरेका हुन् ।

विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकमा घिसिङले लाइन जोड्ने लिखित पत्र उर्जामन्त्रालयबाटै आउनुपर्ने भन्दै अडान लिएका थिए । उनको अडानपछि शुक्रबारको बोर्ड बैठकमा कुनै निर्णय हुन् सकेन ।

‘घिसिङले अनेक निहु खोजेर प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्ने काम गर्नुभयो । शनिवार फेरी बैठक बसेर समस्या समाधानको लागि कोशिस गर्छौ ।’ उर्जामन्त्री निकट स्रोतले भन्यो । उद्योगमा लाइन काटिएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि पहल सुरु गरेका थिए । उनले व्यवसायी र सरोकारवालालाई बोलाएर शुक्रवार छलफल गरेका थिए।

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा घिसिङ र  उद्योगीको आ-आफ्नै अडान छ । घिसिङले लाल आयोगको भनेको अवधिलाई आधार मानेर मन्त्रिपरिषदको निर्णयपछि बक्यौता हिसाब गरेर उद्योगलाई बिल पठाएको दावी गर्दै आएका छन् भने उद्योगीहरुले प्रमाणबिना बिल काटेको भन्दै उक्त रकम तिर्न नसक्ने अडान राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्