समाचार

कांग्रेस सभापति देउवाद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

४ श्रावण २०८१, शुक्रबार १७:२५
कांग्रेस सभापति देउवाद्वारा पर्यटन व्यवसायी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पर्यटन व्यवसायी तथा द्वारका होटल एवं रिसोर्टका सञ्चालक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

श्रेष्ठको ९२ वर्षको उमेरमा उपचारका क्रममा साउन ३ गते निधन भएको हो। सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे।

सभापति देउवाले श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरे। श्रेष्ठ हिमाल मिडिया प्रालिको संस्थापक अध्यक्ष तथा स्पेनका लागि पूर्वअवैतनिक महावाणिज्यदूतसमेत थिइन्। 

साढे छ दशकदेखि नेपालको पर्यटन तथा होटल व्यवसायका क्षेत्रमा अनवरत रूपमा संलग्न रहेर यस क्षेत्रको श्रीवृद्धिमा उनले उल्लेखनीय योगदान पुर्‍याएकी थिइन् ।सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उनले पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्