मुख्य समाचार

साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

३ श्रावण २०८१, बिहीबार १३:२३
साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

३ साउन, काठमाडौं ।साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

बिहीबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख र पार्टीका प्रमुख सचेतकहरूबीच छलफलपछि  सञ्चारकर्मीसँग कुराकानी गर्दै  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले  साउन सात गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्। केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुने भएको हो।

छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी भएको छ।

‘हामी शुक्रबार पनि बैठक बस्छौं त्यहाँ कार्यतालिका प्रस्तुत हुन्छ, त्यो कार्यतालिकाअनुसार हामी अघि बढ्छौं,’ बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हरेक १५ दिनको कार्यतालिका बनाउने अभ्यास छ। त्यसअन्तर्गत शुक्रबार कार्यतालिका प्रस्ताव गरेर कार्यव्यवस्थाबाट त्यो स्वीकृत हुन्छ।’

नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते लिन लागेको  विश्वासको मतका विषयमा पनि छलफल भएको बताए। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

संविधानको धारा ७६ (२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्