अर्थ / वाणिज्य

निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल

२ श्रावण २०८१, बुधबार १३:२८
निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छु : अर्थमन्त्री पौडेल

२ साउन, काठमाडौं।  नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नु पर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे।

उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउँदै उनले यस्ता समस्याको समाधान हुने बताए। मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र अहिले समस्यामा रहेको र आर्थिक पुनरुत्थानको निमित्त निजी क्षेत्रको मनोबल बढाउनु पर्नेमा जोड दिए।  उनले अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्