मुख्य समाचार

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ श्रावण २०८१, बुधबार १३:२४
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

२ साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ। ओलीसँग दुई तिहाई बहुमत देखिएको छ। तर संसद्का प्रमुख २ दल कांग्रेस र एमाले मिलेर सरकार बनेकाले प्रधानमन्त्री ओलीलाई सामान्य बहुमतका लागि समस्या हुँदैन । दुवै दल मिल्दा स्पष्ट बहुमत पुगिसकेको छ । तर नयाँ गठबन्धनले संविधान संशोधनको सहमति गरेको चर्चाबीच प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्छ कि पुग्दैन भन्ने चासो देखिन्छ ।

कूल २७५ सदस्यीय प्रतिनिधि सभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन चाहिन्छ । सरकारमा रहेका दलहरू कांग्रेस, एमाले, जसपा र लोसपाका सांसदको संख्या जोड्दा १७७ पुग्छ । नयाँ गठबन्धनले जनमतलाई मधेश प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेकाले जनमत समेत जोड्दा प्रधानमन्त्री ओलीको पक्षमा १८३ सांसदको समर्थन देखिन्छ । जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समेत ओलीलाई समर्थन गर्ने देखिएकाले दुईतिहाइ बहुमत पुग्ने देखिएको छ । राप्रपाले संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएको छ ।

प्रतिनिधि सभामा कांग्रेसका ८८, एमालेका ७८, माओवादीका ३२, रास्वपा २१, राप्रपाका १४, एकीकृत समाजवादीका १०, जसपाका ७, जसपा नेपालका ५, जनमतका ६, लोसपाका ४, नाउपाका ४, नेमकिपाका १, राष्ट्रिय जनमोर्चाका १, आम जनता पार्टीका १ र स्वतन्त्र २ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्