२ साउन, काठमाडौं। ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै दूतावासले बंगलादेशमा पछिल्लो समय भइरहेको झडप र हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै विद्यार्थीलाई बाहिन ननिस्कन आग्रह गरेको हो ।
बङ्गलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूका कारण सुरक्षालाई ख्याल गरेर विद्यार्थीहरूलाई बाहिर ननिस्कन अनुरोध गरेको दूतावासले जनाएको छ । दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित ठाउँमा जान भनेमा वा आफू बसेको ठाउँ प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । दूतावासले नेपाली विद्यार्थीहरू अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।
दूतावासको सूचनामा भनिएको छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’
बंगलादेशमा सरकारले ल्याएको विशेष आरक्षण विरोधी आन्दोलनमा ६ जनाको मृत्यु भएको छ । सरकारी जागिरमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षण विरोधी आन्दोलन हिंसात्मक रूपमा भड्किएको हो ।
‘मुक्ति बाहिनी’ को स्वतन्त्रता संग्रामपछि बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट अलग भएको थियो । बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारका अनुसार मृत्यु हुनेमा ३ जना विद्यार्थीसमेत छन् । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगबीच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भएका छन् ।