समाचार

काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

१८ पुष २०७८, आईतवार ०७:२६
काँग्रेस सभापति र प्रमुख प्रशासकीय अधिकृतसहित १४ पक्राउ

१८ पुस, जाजरकोट। जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

जुवा खेलिरहेको अवस्थामा बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेलिरहेका थिए।

पक्राउ पर्नेमा भेरी ६ का वार्ड सचिव प्रचण्डजंग शाह, रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्मचारीहरु कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेल, विकास विसी, बालकृष्ण बुढाथोकी जुवाखालबाट पक्राउ परेका हुन् ।

उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको समेत प्रयोग गर्ने गरेको र नगद रकम पनि हारजित भएको हुनसक्ने प्रहरी अनुमान छ । पक्राउ परेकाहरुलाई जुवा ऐन अनुसार मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु लाई छुटाउन व्यापक दबाब समेत आएको प्रहरी स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्