अर्थ / वाणिज्य

विकास निर्माणमा बजेट कमी हुन नदिन वैकल्पिक ऋणपत्रबाट स्रोत खोजिने- अर्थमन्त्री

१ श्रावण २०८१, मंगलवार ०३:००
विकास निर्माणमा बजेट कमी हुन नदिन वैकल्पिक ऋणपत्रबाट स्रोत खोजिने- अर्थमन्त्री

१ साउन, काठमाडौं। नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणमा बजेट कमी हुन नदिन वैकल्पिक ऋणपत्रबाट स्रोत जुटाउने निर्णय गरेका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री पौडेलले विकास वित्तको कमी पुरा गर्न र पूर्वाधारमा लगानी अभिवृद्धि गर्न नवीन उपकरण तथा विधिहरूको प्रयोग गर्ने सम्बन्धी मार्गचित्र स्वीकृत गरेका हुन् ।

अर्थमन्त्रीको कार्यभार सम्हालेलगत्तै पहिलो निर्णय गर्दै पौडेलले विकास वित्तको कमी पूरा गर्न र पूर्वाधारमा लगानी बढाउन नवीन उपकरण तथा विधिहरूको प्रयोग गर्नेसम्बन्धी मार्गचित्र स्वीकृत गरिएको जनाए ।

‘मुलुकको सार्वजनिक खर्च व्यवस्थापन क्रमशः चुनौतीपूर्ण हुँदै गएको छ । राजस्व बचत बढ्दो विकास आवश्यकता र पूर्वाधार क्षेत्रमा लगानीको कमी पूरा गर्न पर्याप्त छैन,’ उनले भने, ‘आर्थिक तथा सामाजिक पूर्वाधार निर्माणका लागि आवश्यक विकास वित्तको कमी पूरा गर्न वैकल्पिक वित्तका नवीन उपकरणहरूको प्रयोग गर्नुपर्ने देखिएको छ ।’

नेपाल जस्तै अर्थतन्त्र भएका अन्य मुलुकले हरित बन्ड (ऋणपत्र), दिगो विकास ऋणपत्र, स्वच्छ ऊर्जा ऋणपत्र तथा पूर्वाधार ऋणपत्र, म्याचिङ फन्ड, ग्यारेन्टीलगायत उपकरणको सफल प्रयोग गरेको अनुभवका आधारमा समेत नेपालले पनि यससम्बन्धी आवश्यक प्रबन्ध मिलाउनुपरेको पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्