मुख्य समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

३१ असार २०८१, सोमबार ०२:३२
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै

३१ असार, काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष साेमबार बिहान ११ बजे शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट शुक्रबार पदमुक्त भएपछि राष्ट्रपति पौडेलले शुक्रबार नै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउँदै प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्।

प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि २८ गते अपराह्न ५ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्