मुख्य समाचार

चौथोपटक प्रधानमन्त्री बन्दै ओली

३० असार २०८१, आईतवार ००:५७
चौथोपटक प्रधानमन्त्री बन्दै ओली

३० असार, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

ओलीले शुक्रबार राति सवा ९ बजे राष्ट्रपतिसमक्ष संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । चौथो पटक प्रधानमन्त्री बन्दै गरेका ओलीले सोमबार शपथ लिनेछन् ।

सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।  सो आव्हानअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् ।

आज समय ढिला हुने भएकाले सोमवार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए । प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

साथै, मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिव–करिब समझदारी बनिसकेको बताए । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र नेकपा (एकीकृत समाजवादी)का १० गरी ६३ सांसद उभिएका थिए । विपक्षमा १९४ सांसद देखिएका थिए । अर्थात् नयाँ सरकार गठनको सहमति गरेका कांग्रेस र एमालेको पक्षमै अधिकांश दल देखिएका हुन्।

नयाँ सरकारको पक्षमा कांग्रेस, एमालेसँगै जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पनि उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्