मुख्य समाचार

५९ यात्रु सवार बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लियो

२८ असार २०८१, शुक्रबार ०४:१०
५९ यात्रु सवार बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लियो

२८ असार, काठमाडौं।  भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ।

शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टिम, विमानस्थलको ग्राउण्डह्याण्डलिङ कर्मचारी र सुरक्षाकर्मीले विमानलाई निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् ।

काठमाडौंबाट गएराति साढे ९ बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने, ‘जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।’

विमानस्थल प्रशासनका अनुसार विमानका तीनवटै चक्का माटोमा धसेका कारण समय लागेको हो । चक्का माटोमा गडेका छन् । छिटोभन्दा छिटो विमानलाई निकालेर उडान सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । जहाजका पंखा धावनमार्गमै रहेका कारण उडान सञ्चालन गर्न कठिनाइ भइरहेको हो ।

जहाज चिप्लिएपछि बुद्ध एयरको रेस्क्यु टिम राति दुई बजे अर्को विमानमा भैरहवा अवतरण गरेको थियो । जहाज चिप्लिए लगत्तै विमानस्थलको ग्राउण्डह्याण्डलिङ टिम, सुरक्षाकर्मी र कर्मचारी यात्रुको उद्धार र जहाजलाई निकाल्न खटिएका थिए । बिहानैसम्म विमानस्थल कर्मचारी खटिएका थिए ।

जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ । जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्ध एयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । अहिले काठमाडौंबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्