समाचार

माओवादी महाधिवेशन : दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने

१८ पुष २०७८, आईतवार ०१:५०
माओवादी महाधिवेशन : दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने

१८ पुस, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय समिति चयन गर्नका लागि संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गरेको हो।

सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो । आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आइतबार २ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३ः४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ

४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४:१० बजेसम्म दावी विरोधमा परेका उजुरीको सूचना प्रकाशन, ४:१० बजेसम्म उजुरीमाथि छानविन र निर्णय, ४:४० बजे पुन: नामावली प्रकाशन, ५:३० बजेसम्म उम्मेदवारी फिर्ता, ५:४५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ।

आयोगका अनुसार आइतबार साँझ ६ः२५ बजेदेखि १०ः२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्