समाचार

एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

२८ असार २०८१, शुक्रबार ०२:४३
एनसेलले ल्यायो ‘बिज सधै अन’ योजना

२८ असार, काठमाडौं।  नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ ।

नेपाली उपभोक्ताहरूलाई ‘बिज सधैं अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल भएको कम्पनीले जनाएको हो ।

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोगमार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको कम्पनीको भनाई छ ।

अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाइने यसको मुख्य विशेषता रहेका छन् । एनसेलले स्थापनाकालदेखि नै आफूहरुले एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको स्मरण पनि गरेको छ ।

एनसेलले नेपालभर फैलिएका ३२ हजार बढि संघसंस्था र व्यवसायका पाँच लाख भन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । पत्रकार सम्मेलनमा कम्पनीका सीईओ एवं प्रवन्ध निर्देशक जाब्बोर कायुमोभले उद्योगको विकास भइरहेको, कम्पनीहरूको माग बढ्दै गएको भन्दै सिंगापुर, दुबई र छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेको बताए ।

यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने ? ग्राहकहरूसँग कसरी अन्तरक्रिया गर्ने ? कसरी प्रभावकारिता बढाउने ? भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेको भन्दै उनले एनसेलले पनि उद्यमका पीडा मर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउने काम गरिरहेको बताए ।

कायुमोभले भने, ‘त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन् । सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं । अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौं र इनोभेटिभ सोलुसनहरु ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपाल भिजन २.० मा योगदान गर्न सक्दछ ।’

कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पुर्याउने सोलुसनहरुमा पहुँच पुर्याउने लक्ष्य राखेको छ ।’

उद्यमी व्यावसायीका लागि मासिक रेन्टलमा ४ सय ९९ देखि १ हजार ९ सय ४९ सम्मका पाँचवटा योजनाहरु ल्याएको छ । जस अन्र्तगत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि समावेश गरिएको छ । मेरो लगानी एपले शेयरबजारको नाफा नोक्सान ट्रयाक गर्ने जनाइएको छ ।

यस्तो सेवाको आवश्यकता धेरै हुने ग्राहकले १५ सय ९९ र १९ सय ४९ को मासिक प्लान पनि लिन सक्ने कम्पनीको भनाइ छ । नेपाली व्यावसायीको डेडिकेटेड विजनेस पाटर्नसको रुपमा ऐनसेलले इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रि नम्बर, सिप सोलुुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको छ । यो योजनाले नेपालको डिजिटल अर्थतन्त्रको दिगो बृद्धिलाई सहयोग पुर्याउने विश्वास एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्