खेलकुद

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

२७ असार २०८१, बिहीबार ०३:०६
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

२७ असार, काठमाडौं। कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीवार बिहान बैंक अफ अमेरिका स्टेडियममा भएको सेमिफाइनलमा उरुग्वेलाई १–० गोल अन्तरले हराउँदै कोलम्बिया फाइनलमा पुगेको हो ।

यसअघि २००१ मा कोलम्बियाले मेक्सिकोलाई १-० ले हराएर च्याम्पियन बनेको थियो। उसको यो तेस्रो फाइनल यात्रा हो। त्यसअघि १९७५ मा पहिलो पटक कोलम्बियाले फाइनल खेलेको थियो। उक्त फाइनलमा कोलम्बिया पेरुसँग पराजित भएको थियो।

उरुग्वेलाई हराउन पहिलो हाफमा कोलम्बियाले गरेको एकमात्र गोल निर्णायक बन्यो। ३९ औं मिनेटमा जेम्स रोड्रिग्वेजको क्रसलाई जेफर्सन लेर्माले हेड गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए।

यो गोलका लागि असिस्ट गरेका रोड्रिग्वेजले लियाेनल मेसीको कोपा अमेरिकाको कुनै एक प्रतियोगितामा गरेको सर्वाधिक असिस्टको कीर्तिमानसमेत भंग गरे।

रोड्रिग्वेजको यो जारी प्रतियोगिताम छैटौं असिस्ट हो। यसअघि मेसीले २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा एकै प्रतियोगितामा ५ असिस्ट गर्दै सर्वाधिक गोल अवसर सिर्जना गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।

पहिलो हाफमै कोलम्बिया १० खेलाडीमा समेटिएकाे थियाे। पहिलो हाफको इन्जुरी समयमा ड्यानीयल मुनोज दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिन बाध्य भएका थिए। उनले उरुग्वेका उगार्टेलाई सर्ट तानेको भन्दै कुइनोले छातीमा ठेलेपछि उनलाई रेफ्रीले दोहोरो पंहेलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए।

योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि शुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्