समाचार

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

१७ पुष २०७८, शनिबार १५:०२
माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

१७ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि जारी गरिएको कार्यतालिका स्थगित गरिएको छ ।

आइतबार १ बजेसम्मका लागि निर्वाचन कार्यतालिका स्थगित भएको हो ।शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकाेमा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन समिति प्रमुख विष्णुपुकार श्रेष्ठले बताए ।

यसअघि पार्टीको आठौं महाधिवेशनको जारी बन्द सत्रमा शनिबार साँझबाटै निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो। माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।

संशोधित कार्यतालिकामा आइतबार २ बजेदेखि ३:३० बजेसम्म मनोनयन दर्ता, ३:४० मा मनोनयन दर्ता गरेका उम्मेदवारहरुको सूची प्रकाशन, ४ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, ४:१० बजेसम्म दावी विरोधमा परेका उजुरीको सूचना प्रकाशन, ४:१० बजेसम्म उजुरीमाथि छानविन र निर्णय, ४:४० बजे पुन: नामावली प्रकाशन, ५:३० बजेसम्म उम्मेदवारी फिर्ता, ५:४५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्