समाचार

माओवादी महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, मतदाताको नामावली सार्वजनिक

१७ पुष २०७८, शनिबार १२:००
माओवादी महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, मतदाताको नामावली सार्वजनिक

१७ पुस, काठमाडौँ ।नेकपा(माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनित प्रतिनिधि समेटिएको छ ।

अहिले माओवादी महाधिवेशन आयोजक कमिटीको बैठक बसिरहेको छ। कमिटीले साँझ ५ बजसम्म सहमति खोज्ने प्रयास गर्नेछ। सहमति नभए निर्वाचन प्रक्रिया अघि बढ्ने निर्वाचन आयोगले जानकारी दिएको छ।

माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान छ। यसअघि १५ पदाधिकारी बनाउने विधानमा प्रस्ताव गरिएको भएपनि पदाधिकारीको संख्या थपघट गर्न सक्ने अधिकार केन्द्रीय समितिलाई दिइएको छ। माओवादीमा पदाधिकारीका आकांक्षी बढी देखिएपछि प्रचण्डलाई नेता व्यवस्थापन गर्न सहज बनाउनका लागि पदाधिकारीको संख्या निर्धारण गर्ने जिम्मा केन्द्रीय समितिलाई दिइएको हो। अध्यक्षका लागि भने प्रचण्डको विकल्पमा कसैले पनि दाबी गरेका छैनन्। यसले प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने देखिएको छ।

माओवादीले ५० प्रतिशत खुला र ५० प्रतिशत समानुपातिक रूपमा केन्द्रीय समिति सदस्य चयन गर्नेछ। ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको ‘क्लस्टर’बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्