समाचार

उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

२४ असार २०८१, सोमबार १६:०४
उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने

२४ असार, मोरङ। नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ। यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो।

महासङ्घ कार्यसमितिको आजको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको विधान आजको कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष निर्वाचनबाट चयन हुने जानकारी दिए ।

उनले यसअघि पनि यसै बमोजिमको विधान संशोधनका लागि विभिन्न कार्यदल एवं समितिहरु गठन गरी काम गरिएको भएपनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै पछि अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको अध्यक्ष ढकालले बताए ।

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर आफूले गएको निर्वाचनकै बेला विधान संशोधनको वाचा गरेको र अहिले आफ्नो प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत पारित गरेकामा उनले समितिलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्