समाचार

बाढी पहिरो अपडेट: अहिलेसम्म ८ जनाको मृत्यु ७ जना बेपत्ता

२३ असार २०८१, आईतवार ०२:०५
बाढी पहिरो अपडेट: अहिलेसम्म ८ जनाको मृत्यु ७ जना बेपत्ता

२३ असार,काठमाडौं। दुई दिनयता भएको मुसलधारे वर्षाका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति हुन थालेको छ । बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ८ जनाको मृत्यु भएको विवरण संकलन भएको छ ।

 प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो विपद्जन्य घटनामा परेर छ जना बेपत्ता भएका छन् । सातजना घाइते भएका छन् ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाण्डौमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको ज्यान गएको हो ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छ जना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, नारायणी नदीले बगाउँदा नवलपरासीमा एक युवक बेपत्ता भएका छन् । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकाका ३३ वर्षीय अर्जुन चमार दाउरा टिप्न जाँदा नारायणी नदीमा बगेर बेपत्ता भएका हुन् ।

बाढीका कारण मुलुकभरका ४५ भन्दा सडकमा आवागमन अवरुद्ध भएका छन् । वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्