समाचार

रास्वपाले तत्काल सरकार नछाड्ने

१८ असार २०८१, मंगलवार ०६:४२
रास्वपाले तत्काल सरकार नछाड्ने

१८ असार,काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

 एमाले र कांग्रेसबीच सहमति भएको अवस्थामा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व रहुन्जेल सरकार नछाड्ने निर्णय गरेको हो ।रास्वपाको पदाधिकारी बैठकले सरकार नछाड्ने निर्णय गरेको हो । प्रचण्ड सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित चार जना मन्त्रीहरु रहेका छन् । रास्वपाले नयाँ सरकारमा भने सहभागी नहुने बताएको छ ।

रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘संवैधानिक रूपमा नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढेपछि हामी सरकारबाट बाहिरिन्छौँ ।’ नयाँ गठबन्धनमा रास्वपा सहभागी हुन्छ भन्ने प्रश्नमा बुर्लाकोटीले भने, ‘एमाले-कांग्रेस सरकारमा सहभागी हुँदैनौँ ।’

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछानेसहित ४ जना मन्त्री छन् ।एमाले-कांग्रेसले भने राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाइने दाबी गरेका छन् । सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।

निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्