madhesh

प्रचण्डलाई पदबाट राजीनामा दिएर आउनुहोस् : अध्यक्ष ओली

१८ असार २०८१, मंगलवार ०६:०९
प्रचण्डलाई पदबाट राजीनामा दिएर आउनुहोस् : अध्यक्ष ओली

१८ असार,काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट राजीनामा गर्न आग्रह गरेका छन् ।

सोमबार मध्यराति नेपाली कांग्रेससँगको समझदारीबारे मंगलबार बिहान बालुवाटार पुगेर जानकारी गराउँदै ओलीले यस्तो बताएका हुन्। ‘म दुई तिहाइ सरकारको प्रधानमन्त्री बन्दैछु,’ ओलीले प्रचण्डलाई भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब बन्ने सरकार राष्ट्रय सहमतिको सरकार हुनेछ।’

प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो भनी प्रश्न गरेका थिए । उनले संविधान चलाउने खोजेको हो भनी ओलीलाई सोधेका थिए । ओलीले मुख्य राजनीतिक मुद्दाहरुमा अहिले पनि समझदारी नै कायम रहने मोटो जवाफ दिँदै आफूलाई सघाउन समेत आग्रह गरेको बुझिएको छ ।

‘खासमा अहिले पनि हाम्रो समझदारी नै छ, तपाईंलाई बाहिर राखेर कहाँ छुट्टै समझदारी हुन्छ र भन्दै आउनुभएको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘तर उहाँ अगाडि बढ्नुभयो । संविधान चलाउने कुरा गर्नुभएको छ । त्यो हामी सम्भव देख्दैनौं ।’

प्रचण्डले ओलीलाई भनेको उद्धृत गर्दै ती नेताले भने, ‘संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्षसमेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्