समाचार

एमालेसंगको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

१८ असार २०८१, मंगलवार ०५:५४
एमालेसंगको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

१८ असार,काठमाडौं। नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो। ‘एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ,’ प्रवक्ता महतले भने। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेस विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ। कार्यसम्पादनको निर्णय लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने विधानको व्यवस्था छ।

कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा सभापति देउवाले एमालेसँगको सहमतिबारे जानकारी गराएका थिए। यो सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने तय भएको महतले बताए।

सभापति देउवाले बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने महतले जानकारी दिए।

यस्तै, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको महतले बताए। “शेरबहादुर देउवा र ओलीजी राष्ट्रपतिकहाँ पुगे भन्ने समाचारमा सत्यता छैन,” उनले भने।

प्रतिक्रिया दिनुहोस्