समाचार

सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयोः सञ्चारमन्त्री

१७ असार २०८१, सोमबार १४:१९
सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयोः सञ्चारमन्त्री

१७ असार, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन्।

मन्त्रिपरिषद्को आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेकाे जानकारी दिएकी हुन् ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेकाे र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताइन् । “गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन्, “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”

 हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्नेकुरा ब्रिफिङ गर्नुभयो’ उनले भनिन्, ‘यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो । कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरुलाई थाहा छैन । आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’

प्रतिक्रिया दिनुहोस्