समाचार

बन्द सत्रलगत्तै माओवादीको स्थायी कमिटी बैठक

१७ पुष २०७८, शनिबार ०७:१०
बन्द सत्रलगत्तै माओवादीको स्थायी कमिटी बैठक

१७ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत अहिलेसम्म २० वटा समूहले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा सुझाव पेश गरेका छन्।

बन्दसत्रमा विधान मस्यौदा प्रतिवेदनमाथि प्रतिनिधिहरुले उठाएका प्रश्न, सुझाव र जिज्ञासा जवाफ दिन काठमाडौंस्थित प्रज्ञा भवन कमलादीमा शनिबार स्थायी कमिटीको बैठक बसेको हो। स्थायी कमिटी बैठकमा क्लस्टरअनुसारका केन्द्रीय सदस्य संख्या, पदाधिकारीको संख्या टुंग्याउन र नेतृत्व चयन प्रक्रिया कसरी गर्ने भन्नेबारे छलफल भएको एक नेताले जानकारी दिए।

माओवादी केन्द्रको आठौँ महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै पुनः चयन गर्ने निश्चित छ। अहिलेसम्म अध्यक्षमा कसैले दाबी गरेको छैन र प्रचण्डलाई पार्टीलाई अलपत्र पारेर बीचमै नेतृत्व छाड्न नपाइने भन्दै नेता कार्यकर्ताहरुले दबाबसमेत बढाउँदै आएका छन्।

महाधिवेशनमा प्रस्तावित विधानले माओवादीमा १५ पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसमा अध्यक्ष एक, एकजना वरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ पदाधिकारी रहने विधान प्रस्ताव गरिएको हो।

तर, नेताहरुले बहुपदमा जाने व्यवस्था खारेज हुनुपर्ने माग गरे पनि विधानमा बहुपदीय प्रणालीलाई नै माओवादी केन्द्रले निरन्तरता दिने भएको छ। यसअघि यो महाधिवेशनबाट १५ जना पदाधिकारी चयन गर्ने भनिएको थियो। अब भने पदाधिकारी संख्या केन्द्रीय कमिटीले आवश्यकता अनुसार निर्धारण गर्ने जनाइएको छ।

विधानमा यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटीमा १० प्रतिशत केन्द्रीय सदस्यहरु मनोनित गर्ने व्यवस्था थियो। अब भने मनोनित हुनेको संख्या १५ प्रतिशत बढाउने गरी विधान संशोधन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्