समाचार

मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

१३ असार २०८१, बिहीबार ०५:३७
मुग्लिन–पोखरा सडक विस्तार : ५३ किलोमिटर कालोपत्र पूरा

१३ असार, काठमाडौँ। मुग्लिन-पोखरा सडकअन्तर्गत ५३ किलोमिटर खण्ड कालोपत्रे भएको छ । ८० किलोमिटर लामो उक्त सडकको पूर्वी ३३ र पश्चिमी खण्डमा २० किलोमिटर कालोपत्रे गरिएको हो ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजना कार्यालयका अनुसार बाँकी भागमा धमाधम काम भइरहेको छ । हालसम्म पूर्वी खण्डमा ६२ र पश्चिमी खण्डमा २८ प्रतिशत भौतिक प्रगति भएको छ ।

असारदेखि असोजसम्म ‘मनसुन’ सक्रिय हुने भएकाले हाललाई कालोपत्र गर्न छाडेर पानी निकासका निम्ति नाला, ‘रिटेनिङ वाल, कल्भर्ट’लगायत संरचना निर्माण द्रुत गतिमा भइरहेको आयोजना कार्यालय, पश्चिमका इन्जिनियर नारायण पौडेलले बताए ।

पूर्वी खण्डमा निर्माणधीन ठूला तीन पुलमध्ये डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ । तनहुँको मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ । हालसम्म उक्त पुलको ३० प्रतिशत काम पूरा भएको इन्जिनियर पाण्डेले बताए । एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजनामार्फत काम जारी छ ।

सडक विस्तारको कार्य शीघ्र सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम थालिएको हो । चार लेनमा विस्तार गर्ने उक्त सडकको काम चिनियाँ कम्पनीले गरिरहेको छ । पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किलोमिटर क्षेत्र पश्चिम खण्डमा पर्छ । यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किलोमिटर सडक पूर्वी खण्डमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्