समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनाउन्मुख भएको महासचिव ढकालको निष्कर्ष

१३ असार २०८१, बिहीबार ०५:१७
राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनाउन्मुख भएको महासचिव ढकालको निष्कर्ष

१३ असार, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी विवेकशील जस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना देखिएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान अवस्था बुझ्न देश दौडाहमा निस्केका ढकालले ३२ जिल्लाको भ्रमणपछि पार्टी यही अवस्थामा रहे दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालेका छन् ।

बुधबार पार्टीको अवस्था बुझ्न गरेको जिल्ला भ्रमणको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका ढकाललाई महामन्त्रीको जिम्मेवारीबाट हटाउने तयारी गरिएको हो।

बुधबार साँझमात्रै ढकालले उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई पार्टीको अवस्था निराशाजनक रहेको भन्दै प्रतिवेदन बुझाए पनि दिउँसैदेखि सञ्चारमाध्यममा प्रतिवेदन भएका कुराहरू बाहिर आएका थियो।

सभापति लामिछानेसँग दूरी बढिरहेका बेला प्रतिवेदन पार्टीमा नबुझाई त्यसका विषयवस्तु सार्वजनिक गरेको भन्दै पार्टीको एउटा पंक्ति उनलाई तत्कालै जिम्मेवारीबाट हटाउनुपर्ने ‘लविङ’मा लागेको छ।

‘महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखि दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भर्खरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें,’ उनले उक्त समीक्षा यात्राको प्रतिवेदन  पेश गर्दै सभापितलाई पत्रमार्फत जानकारी गराएका छन् ।

उनले यो प्रतिवेदनले पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने आफ्नो विश्वास रहेको बताए । उनले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्नेमा पनि जोड दिएका छन् ।

‘भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैं मानेको छु, र श्रीकृष्णको वचनलाई सधैं टेरेको छु । यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन् । तर, पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाका रूपमा रहेकाले, मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ उनले भनेका छन् । यसरी दुर्घटना हुँदै छ भन्दा महामन्त्रीबाट हटिनसक्ने पनि उनले विवेचना गरेका छन्

प्रतिक्रिया दिनुहोस्