समाचार

वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड

११ असार २०८१, मंगलवार ०२:१७
वीरेन्द्रनगर नगरपालिकाको बजेट तीन अर्ब ५९ करोड

११ असार, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १५औँ नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । उनले चालुतर्फ रु एक अर्ब ७५ करोड ७३ लाख ६८ हजार नौ सय ९९ (४८ दशमलव ९३ प्रतिशत) र पुँजीगततर्फ रु एक अर्ब ८३ करोड ४५ लाख (५१ दशमलव ०७ प्रतिशत) बजेट विनियोजन गरिएको बताए।

उपप्रमुख खनालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले कृषि विकासमा रु ५६ लाख ५० हजार, पशुपन्छी विकासमा रु ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हितमा रु ६१ लाख ५० हजार र जनस्वास्थ्य प्रवद्र्धन तथा नगर अस्पतालका लागि रु चार करोड पाँच लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गलगायत अन्य लक्षित वर्गमा रु एक करोड १६ लाख ३० हजार, शिक्षा, युवा तथा खेलकुदमा रु सात करोड ९० लाख ६७ हजार, वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापनमा रु दुई करोड ६४ लाख २० हजार, सार्वजनिक सेवा तथा सुशासनमा रु दुई करोड १७ लाख ४५ हजार र नगरस्तरीय विविध पूर्वाधार विकासमा रु २५ करोड ८५ लाख ५० हजार बजेट विनियोजन गरेको उपप्रमुख खनालले जनाए।

त्यस्तै तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि रु ३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवद्र्धन कार्यक्रम म्याचिङ फण्ड (समपूरक कोष) (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि रु १० करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमकाअन्तर्गत रु एक करोड ६० लाख र वडास्तरीय नगर गौरव आयोजनाका लागि रु आठ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्