समाचार

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

३१ जेष्ठ २०८१, बिहीबार १५:२४
आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली

३१ जेठ, भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गरेका छन् ।

आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पारे ।

बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए।

गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि एमाले सरकारले कानुन बनाएकै कारण बेचेर खान नपाइने भयो भनेर एमालेको विरोधमा स्यालहुँइया मच्चाएको उनले बताए। उनले कांग्रेस वर्षौंसम्म सरकारको नेतृत्व गरेर बसे पनि सिन्को भाच्न नसकेको बताए। धाँधली गरेर कांग्रेसले चुनाव जितेको भन्दै स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए।

अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो-याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताए ।

अध्यक्ष ओलीले अध्यक्ष ओलीले फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेलाई पार्टीभित्र ठाउँ नभएको बताए । उनले पार्टीभित्र आन्तरिक सङ्घर्ष गरेर नभई एकताबद्ध भएर मिसन–८४ सफल पार्न निर्वाचितहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्