समाचार

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

२७ जेष्ठ २०८१, आईतवार ०८:०३
मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान

२७ जेठ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली प्रस्थान गरेका छन्।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली प्रस्थान गरेका हुन्।  प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्।

भारतीय जनता पार्टी (भाजपा) का नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र उनीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड भोलि (सोमबार) स्वदेश फर्किने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए।

प्रचण्डलाई मोदीले निर्वाचित भएपछि भएको टेलिफोन वार्ताबाटै औपचारिक निमन्त्रणा दिएका थिए। लगत्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो।

आइतबार शपथ ग्रहण समारोह सकेर प्रचण्ड सोमबार ९जेठ २८० नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ।  यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिएनन्।

यसपटक भने गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन्।

प्रतिक्रिया दिनुहोस्