karnali

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजानिक

२३ जेष्ठ २०८१, बुधबार १३:३१
कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजानिक

२३ जेठ, काठमाडौँ।  कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेकाे छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् ।

उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संवैधानिक मार्गदर्शन, समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय सोच र समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना पूरा गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

कर्णालीबासीको विकास र समृद्धिको तीव्र आकांक्षालाई सम्बोधन गर्न वर्तमान संरचना र कार्यप्रणालीमा क्रमशः गुणात्मक सुधार गर्दै लगिने उनले बताए।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रि य खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारीसँगै पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिने, अत्याधुनिक सुविधासहितको प्रदेश रङ्गशाला निर्माणको कार्य समयसीमा भित्रै सम्पन्न गर्ने गरी कार्य भइरहेको, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार युवालाई रोजगारका विभिन्न् अवसर उपलब्ध गराउन प्रदेशका सबै वडामा कर्णाली प्रदेश सरकारको उपस्थिति भइरहेको र विषयगत मन्त्रालयका कार्यक्रमलाई समेत रोजगार केन्द्रित बनाइएको बताए।

साथै, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरूलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउन कर्णाली प्रदेशका सबै वडामा प्रदेश सरकारको उपस्थिति रहने पनि बताइएको छ ।

रैथानेबाली संरक्षण र उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गरिनेदेखि कृषिमा सहुलियत व्याजको अनुदानसम्मका कुराहरुलाई नीति तथा कार्यक्रमले समेटेको छ ।

स्वास्थ्यअन्तर्गत प्रदेश मातहतका अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै लगिने र प्रदेश अस्पतालबाट एमआरआई र मृगौला प्रत्यारोपनको सेवा सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्