समाचार

ललिता निवास प्रकरण : २१० लाई पक्राउ पुर्जी तर सूचीमा छैन नेताको नाम

१६ पुष २०७८, शुक्रबार १५:४६
ललिता निवास प्रकरण : २१० लाई पक्राउ पुर्जी तर सूचीमा छैन नेताको नाम

 १६ पुस, काठमाडौं। सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन ।

बालुवाटारस्थित ललिता निवास परिसरको १४३ रोपनी सरकारी जग्गा हिनामिना भएको देखिएपछि सीआईबीले काठमाडौं जिल्ला अदालतबाट २ सय १० जनाविरुद्ध पक्राउपुर्जी लिएको छ।

उक्त जग्गा हडप्न कर्मचारी, बिचौलिया र भूमाफियाको संलग्नता देखिएको सीआईबीको रिपोर्टमा उल्लेख छ। २ सय १० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको भएपनि उनीहरुको नाम भने गोप्य राखिएको छ। पक्राउ पुर्जीमा समावेश भएका नामबारे एक उच्च प्रहरीले भने, ‘अहिले नाम सार्वजनिक गर्दा दोषी भाग्ने खतरा भएकाले नाम गोप्य राखिएको छ।’ स्रोतका अनुसार उक्त सूचीमा कुनै पनि नेताको भने नाम उल्लेख छैन।

स्रोतका अनुसार २०४९ सालमा जग्गा हडप्ने कसुरमा संलग्नमध्ये ४० जना फरार सूचीमा छन् । यस्तै, ०६२ मा हिनामिनामा संलग्न भएको कसुरमा १५ जना, बालुवाटारस्थित प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीको निवास विस्तारका नाममा नक्कली मोहीलाई जग्गा सट्टाभर्ना दिएको कसुरमा ८० जना र २०६९ मा सरकारी जग्गा नक्कली टिकिन्छा गुठीमा कायम गर्ने र त्यसमा नक्कली मोही खडा गर्ने ८५ विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

ललिता निवास जग्गा प्रकरणमा सीआइबीले तत्कालीन मन्त्री विजयकुमार गच्छेदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त सञ्जय साहलाई पनि आरोपी ठहर गरेपछि अख्तियारले मुद्दा दर्ता गरेको थियो । १७५ जनाविरुद्ध मात्र मुद्दा दायर गरेर ३२५ जनाविरुद्ध मुद्दा दर्ता गरिएन । अख्तियारले १७५ जनाविरुद्ध मुद्दा दर्ता गर्दा २० अर्बको बिगो दाबी गरेको थियो । ११० जनाविरुद्ध भ्रष्टाचार मुद्दा र ६५ जनाविरुद्ध जग्गा जफतको मुद्दा दायर भयो । जसमा ३ पूर्वमन्त्री र ३ पूर्वसचिव पनि परे ।

विसं २०२२ सालमा भोगाधिकारीहरुलाई मुआब्जा दिएर सरकारले ललिता निवासको करिब २९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर, २०४६ सालपछि ललिता निवासको जग्गा हडप्ने क्रम सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्