समाचार

महावैले सञ्चालनमा ल्याए आफ्नै पाठ्यक्रम

१८ जेष्ठ २०८१, शुक्रबार ०२:२९
महावैले सञ्चालनमा ल्याए आफ्नै पाठ्यक्रम

२४ असार,कालिकोट।  कालिकोट जिल्लाको नौ स्थानीय तहमध्ये दुई गाउँपालिकाले आफ्नै पाठ्यक्रम सञ्चालनमा ल्याएका छन् । जिल्लाका महावै गाउँपालिका र पचाल झरना गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाएर पाठ्यपुस्तक तयार गरेका हुन् ।

महावै गाउँपालिकाले ‘हाम्रो महावै’ र ‘हाम्रो गौरव’ नामको र पचाल झरना गाउँपालिकाले ‘हाम्रो पचाल झरना’ पाठ्यपुस्तक बनाएको हो । दुवै गाउँपालिकाले शैक्षिक सत्र विसं २०८० देखि गाउँपालिकाभरका विद्यालयमा पाठ्यक्रम लागू हुने गरी पाठ्यपुस्तक सञ्चालनमा ल्याएका हुन् । पचाल झरना गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ ।

स्थानीय तहलाई शिक्षा ऐनले दिएको अधिकारलाई प्रयोग गर्दै विद्यालयलाई पठनपाठनका लागि हस्तान्तरण गरिएको पचाल झरना गाउँपालिका गाउँ शिक्षा शाखा प्रमुख नमराज शाहीले बताउनुभयो । ‘शिक्षा ऐनले दिएको अधिकारअनुसार नै पाठ्यक्रम तयार पारेका छौँ”, उनले भने, “यसमा हामीले पालिकाभरका सबै क्षेत्र समेटेर पाठ्यक्रम तयार पारेका हौँ ।”

महावै गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार पारेर विद्यालयमा पढाउन थालेको छ । कक्षा एकदेखि आठसम्मका विद्यार्थीले अनिवार्य अध्ययन गर्नुपर्ने गरी पाठ्यक्रम र पाठ्यपुुस्तक निर्माण गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

“जिल्लाको स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने महावै गाउँपालिका पहिलो भएको छ”, उहाँले भन्नुभयो, “नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको हो ।”

पुस्तकमा १० वर्षे जनयुद्धको इतिहास, गाउँका पर्यटकीयस्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावना लगायतका बारेमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्