समाचार

महावै गाउँपालिका पुर्णखोप सुनिश्चित घोषणा

१८ जेष्ठ २०८१, शुक्रबार ०२:०३
महावै गाउँपालिका पुर्णखोप सुनिश्चित घोषणा

२८ चैत्र,कालिकोट। कालिकोट जिल्लाको महावै गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता,पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो।

घोषणा कार्यक्रम सहभागिहरुले खोप लगाऔँ, रोग भगाऔँ भनेर साझा प्रतिवद्वता समेत गरेका छन्। जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ सेवा व्यवस्थापक कटक महत, गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले संयुक्त पालिकालाई पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरेका हुन्।

पालिकामा १ देखि ७ वटै वडाका शुन्यदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका सबै बालबालिकाहरुले खोप पाइसकेकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना’ घोषणा गरिएको महावै गाउँपालिकाले जनाएको छ गाउँपालिकाका अनुसार, अहिलेसम्म पालिकामा ९५ प्रतिशत बालबालिकाले खोपकार्ड पाएको देखिएको छ।

महाँवै गाउँपालिका, जिल्ला अस्पतालले अनुगमन गर्दा गाँउपालिकाका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएकाले ‘पूर्ण खोप सुनिश्चितता र दीगोपना’ घोषणा गरिएको हो। अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीति अन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु पर्ने अवस्था नभएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहको भनाइ छ।

स्वस्थ समाज बनाउन खोप अनिवार्य छ। गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले प्रत्येक गाउँमा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचमा ल्याइएको बताए। महावै विकट पालिका भएकाले खोप लगाउन र स्वास्थ्य सेवा दिन समस्या रहे पनि स्वास्थ्यकर्मीहरूले जिल्लाकै पहिलो पुर्णखोप सुनिश्चितता दिगोपना घोषित गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्